पोखरा । जेन–जी आन्दोलनका क्रममा पोखराको लेकसाइडस्थित बरपिपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जना पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रूपक नेपाली (२९), खड्कबहादुर थापा (४२), खुमराज गुरुङ (३२), नवराज खड्का (४७) र एलिसा गुरुङ (२७) रहेका छन्। पक्राउ परेकामध्ये रूपक नेपाली कराते प्रशिक्षक भएको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते आन्दोलनकारीहरूले पटक–पटक रिसोर्टमा पुगेर तोडफोड र आगजनीको प्रयास गरेका थिए। रिसोर्टका कर्मचारी र स्थानीयले सम्झाउने प्रयास गरे पनि अन्ततः भवनमा आगो लगाइएको थियो।
आन्दोलनमा संलग्न समूहले रिसोर्टमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको आरोप लगाएको थियो। तर, रिसोर्टका सञ्चालक जीतु गुरुङले उक्त आरोपलाई स्पष्ट रूपमा खण्डन गर्दै रिसोर्ट आफ्नै श्रम र पूँजीबाट निर्माण गरेको बताए।
लमजुङबाट पोखरा आएर होटल व्यवसायमा लागेका जीतुले रिसोर्ट निर्माणका लागि वर्षौँको मिहिनेत गरेको बताए। आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कानुनी कारवाहीको माग गर्दै उनले अघिल्लो हप्तामात्रै कास्की प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई प्रमाणसहित जाहेरी दिन तयारी रहेको बताएका थिए।
उक्त कार्यक्रममा सहभागी प्रहरी प्रमुख एसपी नवीन कार्कीले आपराधिक क्रियाकलापमा संलग्नलाई उन्मुक्ति नदिइने प्रतिवद्धता जनाएका थिए।
प्रहरीका अनुसार व्यवसायीको जाहेरी र संकलित प्रमाणका आधारमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया