काठमाडौं  । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासन र आर्थिक अनुशासनको पक्षमा रहे पनि भ्रष्टाचार विरोधका नाममा निशानामा परेकोमा दुःख प्रकट गरेका छन्।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा पोखरेलको घरमा भएको आगजनी र तोडफोडपछि उनले आफ्नो पारिवारिक र राजनीतिक यात्राका अनुभूति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

advertisement

पोखरेलले लेखेका छन्, “घर जलाएपछि करिब दुई महिना साथीको घरमा बसेँ, अब फेरि फ्ल्याट लिएर डेराको जीवन सुरु गरेको छु। उनले जीवनका उतारचढावलाई भावनात्मक ढङ्गले प्रस्तुत गर्दै राजनीतिक जीवनमा आफूले अपनाएको अनुशासन र मितव्ययिताको प्रसंग उल्लेख गरेका छन्।

पूर्व लुम्बिनी मुख्यमन्त्री समेत रहेका पोखरेलले आफ्नो कार्यकालमा पुँजीगत खर्च १०० प्रतिशत गरेको र अर्थ मन्त्रालयमा बेरुजु शून्य राखेको दाबी गरेका छन्। उनले लेखे, मैले हरेक जिम्मेवारीमा आर्थिक अनुशासन र मितव्ययिताको उदाहरणीय अभ्यास गरेको छु।

पोखरेलका अनुसार, संसद् हुँदा देशमा ‘प्राडो र पजेरो संस्कृति’ सुरु भए पनि उनले त्यस्तो सुविधा नलिएको र गम्भीर रोग हुँदा पनि राज्यबाट उपचार खर्च नलिएको उल्लेख गरेका छन्।

आफ्नो पारिवारिक पक्ष स्पष्ट पार्दै पोखरेलले दाङमा शिक्षा र समाजसेवाका लागि तीन सय बिगाहा भन्दा बढी जग्गा दान गरिएको र अहिले आफ्नो नाममा चार बिगाहा मात्र रहेको बताएका छन्। उनले कोटेश्वरमा रहेको चार आना जग्गा श्रीमती सुजिता शाक्यकी दिदीले दिएको र घर निर्माणका लागि दाजुले पुर्ख्यौली सम्पत्ति बेचेर पठाएको रकम प्रयोग गरिएको विवरण पनि सार्वजनिक गरेका छन्।

राजनीतिक यात्राको सन्दर्भमा पोखरेलले १६ वर्षको उमेरमा घर छोडेर अध्ययनका लागि बनारस गएकाले त्यहींबाट समाजसेवा र राजनीतिमा आकर्षित भएको स्मरण गरेका छन्। बनारसको पढाइ सकेर नेपाल फर्किएपछि उनले अनेरास्ववियुको नेपाल बन्दका क्रममा गिरफ्तार भई करिब पाँच महिना जेल जीवन बिताएको पनि उल्लेख गरेका छन्।

भ्रष्टाचार विरोधका नाममा आफ्ना विरुद्ध भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै पोखरेलले भनेका छन्, त्यो अभियानका नाममा भएका अपराधप्रति म चरम घृणा गर्छु, तर जेन–जी आन्दोलनमा सक्रिय नवयुवाहरूको आदर्शप्रति म सम्मान राख्छु।

उनले थपे, सुशासन र पारदर्शिताका मापदण्डमा जो–कोहीसँग पनि आफूलाई परीक्षणका लागि प्रस्तुत गर्न म सधैं तयार छु।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com