काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टी अहिले इतिहासको अत्यन्तै निर्णायक मोडमा रहेको बताउँदै आगामी संसदीय चुनाव अघि पार्टीको महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै नेतृ गौतमले भनिन्, महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जानु उचित हुँदैन। मंसिरभित्रै महाधिवेशन सम्पन्न गरी नयाँ जनादेश लिएर मात्रै चुनावी प्रतिस्पर्धामा जानुपर्छ।

advertisement

उनका अनुसार महाधिवेशन समयमै सम्पन्न भए मात्र पार्टीले नयाँ नेतृत्वसहित जनविश्वास पुनःस्थापना गर्न सक्छ। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो जिम्मेवारीलाई पार्टीको आन्तरिक एकता र नेतृत्व सुदृढीकरणको अवसरका रूपमा लिन सुझाव दिइन्।

“हामी अहिले पार्टीको अस्तित्व र विश्वसनीयताको निर्णायक घडीमा उभिएका छौं, उनले भनिन्, अब आत्ममूल्यांकन र सुधारको दिशा रोज्ने कि अतीतका गल्ती दोहोर्याउने भन्ने निर्णय गर्नुपर्ने समय आएको छ।
नेतृ गौतमले जेन–जी आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिमा भएको क्षतिको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिन्। साथै, पार्टी सभापति शेरबहादुर देउवा र नेतृ अरजु राणा देउवामाथि भएको आक्रमण तथा पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबारे स्पष्ट तथ्य विवरण सार्वजनिक गर्न पार्टी नेतृत्वलाई आग्रह गरिन्।

उनले विशेष महाधिवेशनको मागसहित प्रतिनिधिहरूले गरेको हस्ताक्षर संकलनलाई पार्टीभित्रको असन्तुष्टि, नयाँ राजनीतिक दिशा खोज्ने प्रयास र आन्तरिक लोकतान्त्रिक अभ्यासप्रतिको आकांक्षाको अभिव्यक्ति भएको बताइन्।
गौतमले हालको राजनीतिक र संगठनात्मक अवस्थालाई आत्ममूल्यांकनको अवसरका रूपमा प्रयोग गर्न जोड दिँदै भनिन्, प्रजातान्त्रिक छानबिन सत्ताको बाटो होइन, सुशासनको चेत जगाउने अभियान हो। तर, पार्टीभित्र यही सुशासन र आन्तरिक लोकतन्त्रका सवालमा असन्तुष्टि गहिरिँदै गएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com