काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले संगठनभित्र आफ्नो मूल्यमान्यता स्थापित गर्न नसक्दा पार्टीमा समस्या बढेको स्वीकार गरेका छन्।
पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई शुक्रबार चितवनको सौराहामा सम्बोधन गर्दै अर्यालले आन्तरिक गोपनीयता भंग र नेताहरूको राजनीतिक चरित्रमा विवाद बढाउने प्रवृत्तिलाई पार्टीले नियन्त्रण गर्न नसकेको कुरा स्वीकार गरे।
उनी भन्छन्, ‘आफ्नै संस्कार र संस्कृति पार्टीमा स्थापित गर्न नसक्दा अब सुधार आवश्यक छ। रास्वपाको कमजोरीले हामी कहिल्यै बलियो हुन सक्दैनौँ। मझेरी खनेर आँगन पुर्ने काम हामीले गर्नु हुँदैन।’
अर्यालले आफ्नो राजनीतिक प्रतिवेदनमा देशभरका जनता र शुभेच्छुकहरूलाई पार्टीको स्पष्ट धारणा दिन नसकेको पनि स्वीकार गर्दै भने, ‘हामी चुनाव जित्न सक्ने अवस्थामा छैनौँ। चुनाव जित्न राम्रो उम्मेदवार आवश्यक छ। आफैंले उम्मेदवार दिन नसक्नु मेरो मात्रै गल्ती हो कि तपाईंहरूको पनि? सबैले समीक्षा गर्नै पर्छ। आगामी चुनावमा हामीले अवश्य जित हासिल गर्नै पर्छ।’
साथै, उनले पार्टीभित्र सम्भावना भएका नेताहरूको खुट्टा तान्ने प्रवृत्ति रहेको र यसलाई सुधार गर्नुपर्ने कुरामा जोड दिए। अर्यालले जोड दिए, ‘पार्टीको पहिचान विचार, दृष्टि र कार्यशैलीबाट हुन्छ। यदि हामी नयाँ र पुरानो बीचको सन्तुलन गुमाउँछौँ भने पुरानै लहरामा फस्ने खतरा बढ्छ। अब हामीले आफैंलाई सोध्नुपर्छ—सँच्चिने कि सक्किने?’
उनको यो मन्तव्यले रास्वपाभित्र सुधार र संगठन सुदृढिकरणको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने संकेत दिएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया