काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई पुनः संवैधानिक मार्गमा ल्याउन प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्।
एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक ढंगले संसद विघटन गरेको आरोप लगाउँदै भने, देशलाई संविधानको बाटोमा फर्काउन संसद पुनःस्थापना गर्नुको विकल्प छैन।
उनका अनुसार प्रतिनिधिसभा विघटन र त्यसपछि बनेको सरकार संविधानको मर्मविपरीत छ। ओलीले भने,सरकार गठनका क्रममा एमाले सहभागी नै थिएन। त्यसैले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको यो सरकार र संसद विघटनमा हाम्रो पूर्ण असहमति छ।
अध्यक्ष ओलीले देशभर संसद पुनःस्थापनाको मागलाई तीव्र बनाउन आह्वान गरे। उनले भने,संविधान र जनमतको रक्षा गर्न सबैले आन्दोलित हुनुपर्छ। संसद पुनःस्थापनाका लागि सशक्त आन्दोलन जरुरी छ।
उनले अहिलेको सरकारलाई तोडफोड र आगजनीको बलमा बनेको असंवैधानिक संरचना भन्दै त्यसको गतिविधिलाई पनि गैरसंवैधानिक करार दिए। ओलीले टिप्पणी गरे,एमाले कहिल्यै बेठिक तत्वसँग झुक्दैन। दुई दिनको आन्दोलनले बनेको सरकारले संविधानलाई उल्ट्याउन खोजेको छ, तर हामी नझुक्ने छौं।
कार्यक्रममा ओलीले आफू देश छाडेर नभाग्ने स्पष्ट गर्दै भने,यो जरा र टुप्पो नभएको आकाशबेली सरकार हो। यस्तो सरकारले मेरो पासपोर्ट रोक्का गर्छ। के गर्ने हो यसले?
उनले थपे,म देशमै रहन्छु, मर्न परे पनि यहीँ मर्छु। सुकरात भागेनन्, केपी ओली पनि भाग्दैन। यो गैरजिम्मेवार सरकारलाई देश सुम्पिएर म भाग्ने सोच पनि छैन।
ओलीले अन्त्यमा देशलाई असंवैधानिक संकटबाट जोगाउन सबै राजनीतिक शक्तिहरू र नागरिकलाई संविधानको पक्षमा उभिन आह्वान गरे।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया