काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने दिन नजिकिँदै गर्दा निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन पर्ने क्रम बढेको छ । आयोगमा नयाँ दल दर्ताका लागि शुक्रबार पाँच निवेदन परेका छन् ।

आयोगमा १ सय २५ राजनीतिक दल दर्ता भइसकेका छन् । गत भदौको जेन–जी आन्दोलनपछि १५ दल दर्ताका लागि आयोगमा निवेदन परेको छ । त्यसमध्ये धरान उपमहानगर प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले दल दर्ता प्रमाणपत्र पाइसकेको छ ।

advertisement

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार कागजात पूरा भएका तथा केन्द्रीय समिति तथा समर्थकको सनाखत सकिएकाहरूले प्रमाणपत्र पाउनेछन् । ‘कानुनले तोकेको कागजात पूरा गरिसकेका दलको दर्ता प्रक्रिया अन्तिम चरणमा छ,’ महाशाखा प्रमुख यज्ञ भट्टराईले भने ।

गत साउनमा ज्ञानबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दिएका थिए । जेन–जी आन्दोलन पछाडि दिनेशराज प्रसाईंले गतिशील लोकतान्त्रिक पार्टी, अजयकुमार राईले राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपानेले नेपाल लिभरल पार्टी, हीराप्रसाद सेतीले राष्ट्रिय जेन–जी पार्टी दर्ताको निवेदन दिएका छन् । यस्तै नेत्रविक्रम चन्दको कम्युनिस्ट पार्टी नेपाल, कविर सोबको नागरिक उन्मुक्ति पार्टी नेपाल, नवराज सुवेदीको जनयुग पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल र हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी दर्ताका लागि निवेदन परेका छन् ।

आयोगमा शुक्रबार योगेन्द्र मण्डलले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल र रिहयाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

दल दर्ता गराउन चाहनेले विधान, घोषणापत्र, झन्डा र चिह्नको नमुना, कम्तीमा पाँच सय नेपाली मतदाताले दलको सदस्यता प्राप्तिका लागि गरेको प्रतिबद्धता र निजहरूको नागरिकता वा मतदाता परिचयपत्र प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षरसहित आयोगमा निवेदन दिनुपर्नेछ । कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था हुनुपर्ने कानुनी व्यवस्था पनि छ । कागजात पूरा भएपछि आयोगले केन्द्रीय समितिमा रहेका तथा सदस्यता लिएका पाँच सय जनाको सनाखत गर्छ ।

 

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com