सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सुदृढ र एकरूप बनाउन विशेष भेला आयोजना गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा दुईदिने भेला हुने कार्यालयले जनाएको छ।

भेलामा प्रदेशका सबै १० जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा उपप्रमुख, नगरप्रमुख, उपप्रमुख र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ।

advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा तीन प्रमुख विषयमा छलफल हुनेछ,  पहिलो, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध र सेवा प्रवाह; दोस्रो, योजना छनोटसम्बन्धी हाल कर्णाली प्रदेशले अवलम्बन गरेको कार्यविधि; र तेस्रो, स्थानीय तहका कर्मचारी व्यवस्था तथा राजस्व संकलन र बाँडफाँडका मुद्दा।

सचिव विकका भनाइमा, संघीय शासनको भावना अनुसार तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयलाई सुदृढ बनाउन यो भेला आयोजना गरिएको हो। उनका अनुसार, छलफलबाट प्रदेश र स्थानीय सरकारबीच देखिएका चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू तय गरिनेछ।

कर्णाली प्रदेश सरकारले यस आर्थिक वर्षदेखि योजना छनोट तथा आयोजना बैंकको अवधारणा लागू गरेको छ। सो अवधारणाको कार्यान्वयन अनुभवका आधारमा यस भेलामा सुधार र परिमार्जनका विषयमा पनि विस्तृत छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com