काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग अघि सारेका छन्। उनले मधेश प्रदेशसभाबाट निर्णय गरेर आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त सरकार गठन गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका हुन्।
राउतले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, मधेश हाम्रो हो, यहाँ हाम्रो शासन हुनैपर्छ। मधेश प्रदेशसभाको बैठक सडकमै बसेर भए पनि मधेशलाई स्वायत्त घोषणा गरौं।
उनले मधेश प्रदेशसभामा दुई तिहाई सांसदको समर्थन जुटे स्वायत्त घोषणा गर्न सकिने दाबी समेत गरेका छन्। राउतका अनुसार, संघीय सरकारले पनि आन्दोलनको दबाबकै कारण बनेको भएकाले मधेशी जनताको चाहना अनुसार स्वायत्त घोषणा गर्नु असंवैधानिक हुँदैन।
राउतले लेखेका छन्, अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र? आन्दोलनको माग अनुसार बनेको हो। त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेशसभाको दुई तिहाई समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न सक्छौं। नेपाली औपनिवेशिक शासन अन्त्य गर्ने सही समय यही हो।
विगतमा मधेशलाई छुट्टै राज्य बनाउने अभियानको नेतृत्व गरेका राउतले पछि त्यो आन्दोलन त्यागेर मुख्यधारको राजनीतिमा प्रवेश गरेका थिए। तर, उनको पछिल्लो अभिव्यक्तिले उनी अझै पनि विभाजनमुखी सोचबाट पूर्णतः टाढा हुन नसकेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया