काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा उत्पन्न अवरोध हटाउने विषयमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग भेट गरेका छन्।

गत शुक्रबारदेखि स्थानीयवासीले हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोक्दा काठमाडौँमा खानेपानी आपूर्ति ठप्प भएको छ। यस कारण उपत्यकामा नियमित पानी वितरणमा समस्या सिर्जना भएको हो।

advertisement

सोही समस्याको समाधानका लागि मन्त्री घिसिङले सोमबार काठमाडौंमा अध्यक्ष शेर्पासँग भेट गरी अवरोध हटाउन आग्रह गरेका हुन्। मन्त्रीको सचिवालयका अनुसार घिसिङले काठमाडौँमा पानीको अभाव बढ्दै गएको भन्दै तत्काल समाधानमा सहयोग गर्न अनुरोध गरे।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मेलम्ची खानेपानी अवरोध सम्बन्धी समस्या शीघ्र समाधान गर्न निर्देशन दिएकी थिइन्। खानेपानी मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री कार्कीले आफैं सम्हालेकी छन्।

मन्त्री घिसिङले विगतका सहमति र हालका माग वार्ता तथा छलफलबाट समाधान गर्न सरकार तयार रहेको बताए। उनले मेलम्चीबाट पानी आपूर्ति रोकिँदा काठमाडौँवासी गम्भीर समस्यामा परेको भन्दै स्थानीय पक्षलाई सहकार्यका लागि आग्रह गरे।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले भने विगतमा भएको सम्झौता सरकारले कार्यान्वयन नगरेका कारण अवरोध भएको स्पष्ट पारे। उनका अनुसार आयोजनाले लिएको जग्गा र घरभाडाको क्षतिपूर्ति, इटालियन ठेकेदार कम्पनी सिएमसीका आपूर्तिकर्ताले पाउन बाँकी रकम भुक्तानी, मेलम्ची बजार–मेलम्ची घ्याङ सडक निर्माण, र मेलम्चीबाट पथान्तरण हुने पानीको बिक्रीबाट २५ प्रतिशत हिस्सा हेलम्बु विकासका लागि प्रदान गर्नुपर्ने माग रहेका छन्।

२०७८ असोज २१ गते तत्कालीन खानेपानी मन्त्रीको उपस्थितिमा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र स्थानीय राजनीतिक दलबीच सहमति भएको थियो। स्थानीय पक्षले सो सहमति कार्यान्वयन नभएकै कारण अवरोध गर्नुपरेको बताएका छन्।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com