निजगढ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज (कात्तिक २४) हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको थियो ।

advertisement

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरू हात्ती प्रभावित क्षेत्र गएका थिए ।

हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताए ।

हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ । राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो । डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको बताए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताए ।

  • रासस

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com