काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका घटनाले देशलाई दशकौँ पछाडि फर्काएको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले हालको सरकारले प्रतिशोधको राजनीतिमा केन्द्रित हुँदै देशलाई गलत दिशातर्फ धकेलिरहेको आरोप लगाए।

पोखरेलले भने, वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढिरहेको छ। यसले समाजलाई सही दिशा दिन सक्दैन। भदौ २३ र २४ का घटनाले देशलाई अगाडि होइन, दशकौँ पछाडि पुर्‍याउने काम गरेको छ।

advertisement

उनले प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके लोकतन्त्र कमजोर हुने चेतावनी दिँदै विघटित प्रतिनिधिसभाको पुनःस्थापना नै मुलुकको स्थायित्वको उचित विकल्प भएको बताए। पोखरेलका अनुसार राजनीतिक दलहरूभित्र पनि पुनःस्थापनाको आवश्यकता भन्ने धारणा छ, तर खुला रूपमा बोल्ने डर देखिएको छ।

सबैभन्दा उपयुक्त बाटो प्रतिनिधिसभा पुनःस्थापना नै हो, तर अहिले राजनीतिक दलहरू भन्न हिच्किचाइरहेका छन्, उनले भने।

महासचिव पोखरेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हालको अवस्थाले सम्भव नदेखिएको बताए। उनका अनुसार निर्वाचन अस्वीकार गर्न नसके पनि त्यसका लागि अनुकूल वातावरण बन्न नसकेको हो।

कार्यक्रममा उनले एमाले विचार, नीति र संगठनका हिसाबले स्पष्ट दिशामा रहेको भन्दै ‘घर फर्क अभियान’लाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाइने जानकारी दिए।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com