काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “चार महिनाभित्र विदा हुने” दाबी गर्दै मन्त्रीहरूलाई बोली र व्यवहारमा संयम अपनाउन चेतावनी दिएका छन्।
सोमबार पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै ओलीले सरकारका पछिल्ला गतिविधिलाई गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत रहेको भन्दै तीव्र आलोचना गरे।
“मन्त्रीजीहरू धेरै जिब्रो नचलाउनूहोस्, अलिकति सम्हालिएर बोल्न र व्यवहार गर्नूहोस्,” उनले भने, “सरकारको म्याद चार महिनाभन्दा बढी छैन, तर फुर्तीचाहिँ स्थायी सरकारको जस्तो देखिन्छ।”
ओलीले हालै सरकारद्वारा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिने निर्णयलाई ‘कूटनीतिक अज्ञानताको उदाहरण’ भने।
उनले प्रश्न गरे, “राजदूत फर्केर परराष्ट्र मन्त्रालयमा हाजिर हुनु भनेको के हो ? एम्बेसेडर भनेको के हो थाहा छ ? कानुन र कूटनीति बुझ्नेहरू कहाँ छन् सरकारमा ?”
उनका अनुसार, राजदूतहरू कुनै ‘इन-सर्भिस कर्मचारी’ होइनन् र तिनलाई मन्त्रालयमा हाजिर गराउने आदेशले सरकारले आफ्नो अपरिपक्वता उजागर गरेको छ।
अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचन गराउनका लागि नभई अन्य उद्देश्यले बनेको आरोप समेत लगाए। उनका अनुसार, सरकारले फागुन २१ गते निर्धारित आम निर्वाचनबाट पन्छिन प्रयास गरिरहेको देखिन्छ।
“जति उफ्रिए पनि फागुन २१ पछि यसको समय सिद्धिन्छ,” ओलीले भने, “यो सरकार चुनाव गराउँदैन, किनभने यो त्यसका लागि बनेको नै होइन।”
उनले असंवैधानिक गतिविधि सच्याई विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्दै मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउनु अहिलेको अपरिहार्य आवश्यकता भएको पनि उल्लेख गरे।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया