जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले असामान्य परिस्थितिका कारण बाटोमै शपथ लिनुपरेको स्पष्ट पारेका छन् । उनका अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भएर काठमाडौं जाँदै गरेको जानकारी पाएपछि संवैधानिक प्रक्रिया निरन्तर राख्नका लागि बाटोमै शपथ ग्रहण गर्नुपरेको हो।
सोमबार साँझ जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने, ‘प्रदेश प्रमुखज्यू बिरामी भएर काठमाडौं जाँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले फोन गरेर भनेँ—‘माननीय प्रमुखज्यू, तपाईं मलाई शपथ नगराई जानुहुन्न।’ उहाँले स्वास्थ्य अवस्था कमजोर भएको र कार्यवाहकलाई जिम्मा दिएको बताउनुभयो। तर नियुक्ति दिनुहुने अनि शपथ नखुवाउने त मिल्दैन नि। त्यसैले उहाँ जहाँ हुनुहुन्थ्यो, म त्यहीँ पुगें र उहाँकै उपस्थितिमा शपथ ग्रहण गरें।’
उनका अनुसार, नियुक्त मुख्यमन्त्रीले शपथ ग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै पदमा रहिरहने भएकाले तत्काल शपथ ग्रहण गर्नु आवश्यक थियो। ‘संविधानिक प्रक्रिया अबरुद्ध नहोस् भन्ने भावना थियो, त्यसैले बाटोमै भए पनि शपथ ग्रहण गर्नुपर्यो,’ यादवले भने।
मुख्यमन्त्री यादवले शपथ ग्रहण एकै स्थानमा हुनुपर्छ भन्ने कुनै संवैधानिक बाध्यता नभएको उल्लेख गरे। उनले भने, ‘पहिलेका मुख्यमन्त्रीहरूका शपथ पनि फरक–फरक स्थानमा भएका छन्। सतिश सिंहजीको कार्यालयअगाडि, सरोज यादवजीको अर्को ठाउँमा, अनि त्यसअघि अर्कै स्थानमा भएको थियो। त्यसैले स्थान महत्वपूर्ण होइन, प्रक्रिया नै मुख्य कुरा हो।’
संविधानको धारा १६८(२) अनुसार, लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसक्ने स्थिति देखेर कात्तिक २२ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सुवेदीले सबैभन्दा ठूलो दलका रूपमा एमालेका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तर, प्रदेश प्रमुख सुवेदीले सोमबार बिहान स्वास्थ्य उपचारका लागि काठमाडौं जानु अघि महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा झिसमिसेमा यादवलाई शपथ गराएकी थिइन्। असामान्य स्थानमा शपथ ग्रहण गराइएको घटनाले राजनीतिक वृत्तमा व्यापक आलोचना चुलिएको छ।
संघीयता र संवैधानिक अभ्यासमै प्रश्न उठाउने गरी प्रदेश प्रमुखले निर्णय गरेको भन्दै दलका नेता तथा विश्लेषकहरूले आपत्ति जनाएका छन्। तर मुख्यमन्त्री यादवले भने आफू संवैधानिक प्रक्रिया अनुसारै नियुक्त भएको र आफ्नो नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र अखण्डतामा कुनै आघात नपुग्ने दाबी गरेका छन्।
यस घटनापछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गर्दै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया