मुम्बई । भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर गलत रहेको स्पष्ट भएको छ। ८९ वर्षीय धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या भएपछि नोभेम्बर १० (सोमबार) का दिन मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको परिवारले जनाएको छ।

सुरुवातमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धर्मेन्द्रको निधनप्रति शोक व्यक्त गर्दै ट्वीट गरेका थिए। तर केहीबेरमै उनले त्यो पोस्ट हटाएपछि घटनाले थप भ्रम पैदा गर्‍यो। त्यसपछि धर्मेन्द्रकी छोरी ईशा देओलले आधिकारिक वक्तव्य जारी गर्दै निधनसम्बन्धी खबरलाई पूर्णतः असत्य र भ्रामक बताइन्।

advertisement

ईशाले आफ्नो वक्तव्यमा लेखेकी छिन्, ‘मिडियामा फैलिएका निधनका समाचार पूर्ण रूपमा गलत हुन्। बुबाको स्वास्थ्य अवस्था अहिले स्थिर छ र उहाँ सुधारोन्मुख हुनुहुन्छ। कृपया हाम्रो परिवारको गोपनीयताको सम्मान गर्नुहोस् र उहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभयो भने धन्यवाद।’

अस्पताल स्रोतका अनुसार धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या देखिएपछि तुरुन्तै आइसीयूमा राखिएको थियो। चिकित्सकहरूले उनलाई निकट निगरानीमा राखेका छन् र आगामी ७२ घण्टा उनको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहने बताइएको छ।

देओल परिवारसँग नजिक रहेका एक स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरू विदेशबाट मुम्बई बोलाइएका छन्। हिजो राति अस्पताल परिसरमा ठूला छोरा सनी देओल निकै भावुक मुद्रामा देखिएका थिए भने बबी देओल पनि आफ्नो फिल्म ‘अल्फा’को सुटिङ सकेर तत्काल मुम्बई फर्किएर बुबालाई भेट्न पुगेका थिए।

धर्मेन्द्रको स्वास्थ्य अवस्थाबारे जानकारी पाउन बलिउडका वरिष्ठ कलाकारहरू समेत अस्पताल पुगेका छन्। शाहरुख खान, सलमान खानलगायतका कलाकारहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेर देओल परिवारलाई भेटेका थिए।

हाल धर्मेन्द्रको उपचार चिकित्सकहरूको विशेष टोलीको निगरानीमा भइरहेको र उनको स्वास्थ्यमा क्रमशः सुधार देखिएको जनाइएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com