झापा । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारीसाधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोका अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

advertisement

पक्राउ पर्नेहरूमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई छन् ।

त्यसैगरी, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुनसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ । अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • रासस

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com