काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनअघि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्। मंगलबार पार्टी केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले उक्त महाधिवेशनलाई “विशेष नीति महाधिवेशन”का रूपमा सञ्चालन गर्न सुझाव दिएका हुन्।
कार्कीका अनुसार विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन नभई नीतिगत स्पष्टता र विचारगत एकरूपता कायम गर्नुपर्नेछ। उनले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको सन्दर्भमा अब विशेष महाधिवेशन गर्नैपर्छ। त्यो महाधिवेशनलाई नीति केन्द्रित बनाऔं—जहाँ शिक्षा, स्वास्थ्य, समावेशी विकास र सन्तुलित कूटनीतिको स्पष्ट दिशानिर्देशन तय होस्।’
उनले पार्टीको नियमित महाधिवेशन भने निर्वाचनपश्चात गर्ने प्रस्ताव राखेका छन्।
कांग्रेसभित्र हाल महाधिवेशनको मिति र स्वरूपबारे गहिरो मतभेद देखिएको छ। संस्थापन पक्ष विशेष नीति महाधिवेशनका पक्षमा रहेको बेला अन्य पक्षले तत्काल नेतृत्व चयनसहितको नियमित महाधिवेशनको माग गर्दै आएका छन्।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया