काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणलाई लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले देउवा दम्पत्तीमाथिको हमला व्यक्तिगत नभई समग्र लोकतान्त्रिक मूल्य र संस्थामाथिको चुनौती भएको बताएका हुन्।
कार्कीले भने, ‘सभापति देउवा र नेतृ आरजु राणामाथि भएको आक्रमण केवल व्यक्तिमाथि केन्द्रित थिएन, यो लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण हो। त्यसैले घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न म सरकारसँग जोडदार माग गर्दछु।’
उनले आन्दोलनका क्रममा शीतलनिवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी कार्यालय, विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालय, नेताहरूका निजी निवास र व्यावसायिक प्रतिष्ठानहरूमा भएको तोडफोड, लुटपाट र आगजनी घटनालाई “अकल्पनीय र निन्दनीय” करार दिए।
कार्कीका भनाइमा, ‘यी सबै घटनाहरू स्वस्फूर्त थिएनन्, यी योजनाबद्ध र संगठित रूपमा गरिएका विध्वंसकारी गतिविधिहरू हुन्। यस्तो दण्डहिनता जारी रह्यो भने राज्य गम्भीर अस्थिरताको दिशामा जान सक्छ।’
नेता कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार र पुनःस्थापनाका लागि सरकारलाई तुरुन्त पहल गर्न आग्रह गरे।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया