एजेन्सी । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ । सरकारी समाचार एजेन्सी तासका अनुसार यो उच्चस्तरीय भ्रमण सन् २०२५ को अन्त्य अघि सम्पन्न हुने अपेक्षा गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य सञ्चालित सञ्चार माध्यम ताससँग कुरा गर्दै भने, ‘हामी अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणका लागि सक्रिय रूपमा तयारी गरिरहेका छौँ । यो भ्रमण यस वर्षको अन्त्यअघि सम्पन्न हुने योजना छ र हामीलाई विश्वास छ कि यो एक अत्यन्त अर्थपूर्ण भ्रमण हुनेछ ।’

advertisement

भारतीय मिडियामा प्रकाशित रिपोर्टहरूमा उल्लेख भएअनुसार, आगामी डिसेम्बरमा दुवै देशबीच श्रम गतिशीलता सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ । सो विषयमा सोधिएको प्रश्नमा पेस्कोभले भने, ‘हामी अहिले नै कुनै पनि सम्झौता सार्वजनिक गर्न चाहँदैनौँ । सबै कुरा उचित समयमा घोषणा गरिनेछ ।’

स्थानीय मिडियाका रिपोर्टहरूका अनुसार प्रस्तावित श्रम सम्झौताले भारतीय नागरिकहरूलाई रूसी श्रम मन्त्रालयको प्रत्यक्ष निरीक्षणमा रहेको कोटा प्रणालीअन्तर्गत आधिकारिक रूपमा रूसमा दीर्घकालीन रूपमा काम गर्ने अवसर उपलब्ध गराउनेछ ।

राष्ट्रपति पुटिनको भारत भ्रमणले सन् २०२१ पछि उहाँको पहिलो भारत यात्रा हुने अपेक्षा गरिएको छ । यसअघि उनि र प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसै वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको साइडलाइनमा व्यक्तिगत भेटवार्ता भएको थियो ।

भारत र रुसबीच सन् २००० को अक्टोबर ३ मा ‘रणनीतिक साझेदारी सम्झौता’ मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीचको राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धलाई बलियो आधार प्रदान गरेको मानिन्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भारतसँगको व्यापार वार्ता ‘सकारात्मक दिशामा अघि बढिरहेको’ बताएका छन् । उनले भारतले आफ्नो रूसी तेल आयातमा कटौती गरेको दाबी पनि दोहोराएका छन् ।

भारतका लागि अमेरिकी राजदूतका रूपमा सर्जियो गोरको शपथ ग्रहण समारोहमा बोल्दै ट्रम्पले भने, ‘हामी भारतसँग नयाँ व्यापार सम्झौतामा काम गरिरहेका छौँ । अहिले कुरा केही कठिन देखिन्छ, तर अन्ततः यो दुवै देशका लागि लाभदायी सम्झौता हुनेछ भन्ने म विश्वस्त छु । प्रधानमन्त्री मोदीसँग मेरो निरन्तर सम्पर्क रहँदै आएको छ र हामी दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध छौँ ।’

ट्रम्पले भने, ‘भारतसँगको हाम्रो सम्बन्ध पहिलेको भन्दा धेरै फरक र मजबुत हुनेछ । उनीहरू उत्कृष्ट वार्ताकारहरू हुन्, त्यसैले सर्जियो (गोर)ले यो प्रक्रियामा ध्यान दिनुपर्छ । मलाई विश्वास छ, हामी सबैका लागि न्यायसङ्गत सम्झौता गर्न धेरै नजिक छौँ ।’

गत हप्ता राष्ट्रपति ट्रम्पले सम्भवतः सन् २०२६ को सुरुआतमा भारत भ्रमण गर्ने योजना रहेको खुलासा गरेका थिए ।

पुटिन र मोदीबीचको आगामी भेटले भारत–रूस सम्बन्धमा नयाँ अध्यायको सुरुआत गर्ने अपेक्षा गरिएको छ । विशेषतः ऊर्जा, सुरक्षा र श्रम सहयोगका क्षेत्रमा दुवै पक्षले दीर्घकालीन साझेदारीलाई अझ गहिरो बनाउने लक्ष्य राखेका छन् ।

 

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com