काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुन: विद्रोह गर्ने बताएका छन्।
मंगलबार सिन्धुलीगढीमा आयोजित २५८औँ सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले हालको राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र जनअपेक्षाअनुसारको काम नहुनु देशमा असन्तोष बढाउने कारण भएको बताए।
उनका अनुसार, ‘जेन–जी पुस्ताको आन्दोलन पारदर्शिता र सुशासनको मागको स्वर हो। यो आन्दोलन सूचनाको हक खोसिएको प्रतिरोधका रूपमा उठेको हो। यदि हामी राजनीतिक दल र नेताहरू समयमा सच्याइनौं भने जनता फेरि पनि विद्रोहमा उत्रनेछन्।’
मुख्यमन्त्री बानियाँले जनताको सेवा गर्नु नै राजनीतिज्ञको सर्वोच्च धर्म भएको उल्लेख गर्दै भने, ‘राजनीतिमा नाफा–नोक्सान हुँदैन, न्याय वा अन्याय मात्र हुन्छ। जसले अन्याय गर्छ, उसले सजाय पाउनैपर्छ। न्यायपूर्ण समाज निर्माणको लक्ष्यका साथ म राजनीतिमा आएको हुँ।’
उनले राजनीतिज्ञहरूले आफ्ना पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह नगर्दा जनतामा निराशा बढेको बताए। लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रलाई जनसहभागिता र अधिकारमा आधारित व्यवस्थाको रूपमा सुदृढ गर्नुपर्ने उनको भनाइ थियो।
इतिहास स्मरण गर्दै मुख्यमन्त्री बानियाँले नेपाल एकीकरणको क्रममा विभिन्न क्षेत्र, समुदाय र सम्प्रदायलाई एक सूत्रमा बाँधिएको बताए। आजको नेपालमा पनि समावेशीता, सहकार्य र एकताको भावना त्यत्तिकै जरुरी रहेको उनको टिप्पणी थियो।
स
मारोहमा उनले निजामती कर्मचारी र सुरक्षानिकायका सदस्यहरूलाई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे।
कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले आफ्नो व्यावसायिक कौशल प्रदर्शन गरेका थिए।
अंग्रेजसँगको ऐतिहासिक युद्धको स्मृतिमा आयोजित सो समारोहमा जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी, समाजसेवी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया