काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ  एन्फाले १ सय २० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो।

advertisement

जस अनुसार यसै वर्ष चैतमा ‘ए’ डिभिजन लिग हुने छ। सो छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राई, तीन विभागीय टोली, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, नेपाल फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामासहितको टोली सहभागी थियो।

मन्त्री बब्लु गुप्ताले एन्फा, खेलाडी र क्लबका प्रतिनिधिको कुरा सुनेपछि ‘ए’ डिभिजन लिग गर्नका लागि मिति प्रस्ताव गर्न एन्फालाई आग्रह गरेका हुन्। उनले भने, ‘अहिले एन्फाले ‘ए’ डिभिजन लिगको मिति प्रस्ताव गर्नुस्। म त्यही मितिमा क्बलसँग प्रस्ताव गर्छु। यसका लागि क्लबसँग बैठक पनि बस्छु।”

त्यसपछि एन्फा अध्यक्ष पङ्कजविव्रmम नेम्वाङले १२० दिनको समयमा ‘ए’ डिभिजन लिग गराउन सकिने बताएका थिए। एन्फाका महासचिव राईले क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ‘ए’ डिभिजन गराउने प्रतिबद्धता व्यक्त गरे।

फुटबल खेलाडी सङ्घका अध्यक्ष लामाले लिग फागुन २१ अघि नै सुरु गर्न उपयुक्त हुने बताए। निर्वाचनअघि नै लिग सुरु ग¥यो भने खेलाडीको मनोबल उच्च हुन्छ, उनले भने, “त्यसपछि निर्वाचनमा स्थगित गरेर सुचारु गरे पनि खासै फरक पर्दैन।”

अहिलेको लिग होम एन्ड अवेका आधारमा हुने छैन तर एकभन्दा बढी मैदानमा भने खेल गराउने प्रस्ताव छ। प्रस्ताव गरिएको मितिमा लिग गराउनका लागि मन्त्रालयले अब १४ ‘ए’ डिभिजन क्लबसँग छलफल गर्ने छ।

यसअघि एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबिच राष्ट्रिय लिग पुस पहिलो सातादेखि गर्ने सहमति भएको थियो। राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष छ क्लब र जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली गरी १० टोलीबिच प्रतिस्पर्धा गराउने तयारी थियो।

तर यो सहमतिपछि नेपाल फुटबल खेलाडी सङ्घ सडक आन्दोलनमा उत्रिएको थियो। खेलाडी सङ्घले एन्फा मुख्यालयमा धर्ना दिएको थियो भने ‘ए’ डिभिजन लिग गराउनुपर्ने मुख्य माग अघि सारेको थियो। ‘ए’ डिभिजन लिग गर्ने सहमति भएपछि राष्ट्रिय लिग भने पछि गरिने भएको छ।

 

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com