मुम्बई । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज भई बुधबार घर फर्किएका छन् । केही दिनदेखि स्वास्थ्य समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार धर्मेन्द्रलाई उनका छोरा बबी देओलले अस्पतालबाट घर लगेका हुन् । अस्पताल स्रोतका उद्धरणमा भनिएको छ, ‘धर्मेन्द्रलाई आज बिहान करिब साढे सात बजे डिस्चार्ज गरिएको हो।’
उनी उपचाररत चिकित्सक डा. प्रतीत समदानीका अनुसार परिवारकै अनुरोधमा धर्मेन्द्रलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । ‘परिवारले घरमै विश्राम र उपचार गर्न चाहेकाले उहाँलाई घर पठाइएको हो,’ डा. समदानीले बताएका छन् ।
धर्मेन्द्रको स्वास्थ्यबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर चिकित्सकहरूले उनको अवस्था स्थिर रहेको जनाएका छन् ।
उता, धर्मेन्द्रको निवास वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रशंसक र मिडियाको भीड नियन्त्रण गर्न प्रहरीले घर बाहिर घेराबन्दी गरेको बताइएको छ ।
८८ वर्षीय धर्मेन्द्र पछिल्लो समय विभिन्न स्वास्थ्य कारणले अस्पताल भर्ना हुँदै आएका छन् । उनी पछिल्लो पुस्ताका कलाकारहरूका लागि पनि प्रेरणास्रोत मानिन्छन् ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया