कञ्चनपुर ।  भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।
कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् ।  मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गर्नुभएका राना अहिले डेरी मालिक बन्न सफल हुनुभएको छ ।
रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गर्नुभएको हो । अहिले उनले दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् ।
“भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,” रानाले भने, “यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।”
यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्तिसमेत जोडेका छन् । “दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ,” रानाले भने, “यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।”
पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरु पनि थुप्रै छन् । विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गर्नुभएका रानाको सफलता लोभलाग्दो छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com