काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले समयमै नियमित महाधिवेशन नगरे वैधानिक रूपमा विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले पार्टीको विधान अनुसार विशेष महाधिवेशनको मागसहित लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने प्रावधान रहेको स्पष्ट पारे।

advertisement

महाधिवेशन पुस, माघ वा वैशाखमा गर्ने भन्ने कुरा वैधानिक समस्या होइन, उनले भने, “तर विशेष महाधिवेशन माग दर्ता भएपछि ९० दिनभित्र सम्पन्न गर्नुपर्ने दफा १७(२) को स्पष्ट निर्देशन हामी सबैका लागि बाध्यात्मक छ।

महामन्त्री शर्माका अनुसार झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन्, जसलाई सम्मानपूर्वक सम्बोधन गर्न आवश्यक छ। उनले भने, “माग गरिएको विशेष महाधिवेशन र त्यसकै सन्दर्भमा नियमित महाधिवेशन आयोजना गरेर मात्र पार्टीको आन्तरिक प्रश्न समाधान गर्न सकिन्छ।

बैठकमा उनले कांग्रेसका लागि चार सम्भावित विकल्प प्रस्तुत गरे। पहिलो, आगामी पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने  जुन बीपी कोइरालाको स्वदेश फर्किएको ऐतिहासिक मितिसँग जोडिएको छ।

दोस्रो, विधानको दफा १७(२) अनुसार मंसिरभित्रै विशेष महाधिवेशन आयोजना गर्ने। ५४ प्रतिशत प्रतिनिधिको लिखित मागलाई बेवास्ता गर्ने अधिकार कसैलाई छैन,” उनले जोड दिए।

तेस्रो विकल्पका रूपमा उनले केन्द्रीय समितिले नै चाहेको खण्डमा विशेष महाधिवेशन आह्वान गर्न सक्ने व्यवस्था पनि रहेको उल्लेख गरे। “व्यवहारिक अलमल भए पनि विधानले केन्द्रीय समितिलाई यस्तो अधिकार दिएको छ, उनले स्पष्ट पारे।

चौथो विकल्पमा उनले ‘पुसको अन्तिम साता कुनै पनि मितिमा नियमित महाधिवेशन गर्ने’ प्रस्ताव राख्दै सहमतिपूर्ण ‘बीचको बाटो’ खोज्न सकिने सुझाव दिए।

महामन्त्री शर्माले पार्टीभित्र केही नेताहरूले महाधिवेशनले आमनिर्वाचनमा असर पार्ने चिन्ता व्यक्त गरे पनि सक्रिय र जीवन्त संगठन लिएर चुनावमा गए कांग्रेसको प्रदर्शन अझ सशक्त हुने विश्वास व्यक्त गरे।

सुतिरहेको पार्टी लिएर होइन, अधिवेशन र अभियानमार्फत जुर्मुराएको पार्टी लिएर चुनावमा जानुपर्छ, उनले भने, “त्यसले फागुन २१ को निर्वाचनमा सकारात्मक ऊर्जा दिन्छ।

उनका अनुसार नियमित महाधिवेशनको मिति घोषणाले पार्टी एकताको सन्देश दिनेछ र विशेष महाधिवेशन माग गर्ने र नगर्ने पक्षबीचको दूरी घटाउनेछ।

शर्माले ६ हजार ७४३ वडामा क्रियाशील सदस्यता नवीकरण र वितरणको अभियान सुरु हुने दाबी गर्दै करिब चार लाख नयाँ सदस्य थपिने अनुमान गरे।

यो अभियानले पार्टीमा नयाँ जागरण ल्याउनेछ र आगामी निर्वाचनका लागि कांग्रेसलाई थप ऊर्जाशील बनाउनेछ, उनले भने।

नेपाल अहिले भदौ २३ अघिको जस्तो अवस्थाबाट फरक परिस्थितिमा रहेको उल्लेख गर्दै उनले पार्टीले नयाँ समय, चुनौती र जनअपेक्षाअनुरूप रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

जको विषम परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नयाँ नेतृत्व, ऊर्जा, दृष्टि र सन्देश दिनै पर्छ, उनले निष्कर्ष निकाल्दै भने, त्यसपछि मात्र देशले कांग्रेसमाथि फेरि विश्वास गर्न सक्छ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com