काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले ऐतिहासिक खुल्लामञ्चलाई अतिक्रमणमुक्त गरी हरियाली र आधुनिक सुविधासहित स्थायी रूपमा आम नागरिकका लागि खुला गरिएको घोषणा गरेका छन्।

साहले बिहीबार सामाजिक सञ्जालमार्फत लामो समयदेखि विभिन्न प्रयोजनमा अतिक्रमणमा परेको खुल्लामञ्चलाई पुनः सार्वजनिक स्थलको रूपमा पुनर्स्थापना गरिएको जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार करिब ९० लाख रुपैयाँ लागतमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक नेपाली दुबो रोपेर आकर्षक हरियो चौर तयार गरिएको छ। यो कार्य महानगरको ‘खेलकुद पूर्वाधार मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति कार्यक्रम’ अन्तर्गत सम्पन्न गरिएको हो। उक्त कार्यक्रमका लागि महानगरले आफ्ना सबै वडामा करिब ७ करोड रुपैयाँ विनियोजन गरेको छ।

खुल्लामञ्चलाई थप व्यवस्थित बनाउन चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिएको छ, जसमा सहरका अन्य स्थानबाट निकालिएका पुराना हेक्जागोनल ब्लकहरू पुनःप्रयोग गरिएका छन्। रातको समयमा मैदान उज्यालो रहोस् भनेर न्यूरोडबाट ल्याइएका पुराना २१ पोल जडान गरी ‘डे-नाइट सेन्सर’युक्त १०० र ३० वाट क्षमताका बत्तीहरू राखिएका छन्, जसले अन्धकार भएपछि आफैं बल्ने र दिनमा निभ्ने सुविधा उपलब्ध गराउँछन्।

विगतमा काठमाडौं टावर निर्माण, बसपार्क सञ्चालन, र २०७२ सालको भूकम्पपश्चात् पुनर्निर्माण कार्यका लागि प्रयोग हुँदै आएको यो स्थल अब आफ्नो ऐतिहासिक स्वरूपमा फर्किएको मेयर साहले बताएका छन्।

खुल्लामञ्चको स्तरोन्नति कार्य २०८१ वैशाख २४ गतेदेखि सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँगको सहकार्यमा सुरु गरिएको थियो। मैदानमा पानी नजम्ने गरी सतह मिलाइएको र छवटा ‘वाटर रिचार्ज पिट’ निर्माण गरिएको छ।

मेयर साहका अनुसार अब खुल्लामञ्च सबै उमेरका नागरिकका लागि बहुउपयोगी सार्वजनिक स्थलका रूपमा प्रयोग गरिनेछ। बिहानको व्यायाम, बालबालिकाका खेलकुद, युवाका तालिम, र ज्येष्ठ नागरिकका टहल तथा विश्रामका लागि यो स्थल उपयुक्त हुने उनले बताए। साथै, भलिबल र ब्याडमिन्टन खेल्न मिल्ने गरी छुट्टै पार्किङ क्षेत्र पनि तयार पारिएको छ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com