काठमाडौं । नेपाली कांग्रेस आगामी १५औँ महाधिवेशनलाई लिएर दुई धारामा गहिरिँदै गएको छ। संस्थापन पक्ष आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने अडानमा छ भने इत्तर समूहले यही मंसिरभित्रै प्रक्रिया सुरु गर्नुपर्ने मागमा अझै अडिग छ।
इत्तर समूहले ४० प्रतिशत हस्ताक्षर आवश्यक पर्नेमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको माग केन्द्रमा बुझाइसकेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समेत मंसिरमै महाधिवेशन–नियमित अथवा विशेष–गर्नुपर्ने धारमा उभिएका छन्।
करिब एक महिनादेखि जारी केन्द्रीय समिति बैठक महाधिवेशन मितिमा निष्कर्षमा पुग्न नसकेको अवस्थामा सभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएसँगै आज बस्ने बैठक निर्णायक बन्ने आकलन गरिएको छ। देउवाले विदेश प्रस्थानअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
यसैबीच, संस्थापन समूहकै २४ केन्द्रीय सदस्यले पनि मंसिरमै महाधिवेशन प्रक्रिया थाल्नुपर्ने मागसहित कार्यवाहक सभापति खड्कालाई पत्र बुझाएका छन्। पत्र बुझाउनेमध्ये केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले १५औँ महाधिवेशन समयमै सुरु गर्नुपर्ने मागलाई आफूहरू गुट परिवर्तन मानेर नभई संगठनिक आवश्यकता मानेर अघि बढेको दाबी गरेका छन्।
कँडेलका अनुसार आगामी महाधिवेशनमा सभापतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापा प्रमुख प्रतिस्पर्धी रहनेछन्। कार्यकर्ताको जनमत पनि यही तीन नेतातिर केन्द्रित रहेको उनको भनाइ छ।
‘तीन नेताबीच नै प्रतिस्पर्धा देखिन्छ—कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापा। अन्य दाबेदार पनि छन्, तर प्रतिनिधिहरुको मनोभाव यही तीन नेतातिर केन्द्रित छ,’ कँडेलले भने।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया