काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक जिम्मेवार हुनुपर्ने बताएका छन्।
रावलले रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा भने,संसदीय प्रणालीमा कुनै घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले लिनुपर्छ। तर तत्कालीन प्रधानमन्त्री ओलीले ‘मलाई थाहा छैन, मैले आदेश दिएको छैन’ भन्दै गैरजिम्मेवार जवाफ दिएका छन्।
उनले भदौ २४ गतेको विध्वंस र वर्तमान सरकारका निर्णयहरूप्रति पनि आपत्ति जनाए। रावलले भारतसँग गरिएको पारस्परिक कानूनी सहायता सम्झौता, महान्याधिवक्ता सविता भण्डारी बरालमाथि उठेका प्रश्न, ऊर्जामन्त्री कुलमान घिसिङको विद्युत सम्झौता र ७३ वर्षीया सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको विषयमा विवाद उठाएका छन्।
डा. रावलले आगामी फागुन २१ गते हुने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिनुपर्नेमा जोड दिए। साथै उनले आन्दोलनबाट आएको युवा पुस्तालाई पर्याप्त अवसर दिनुपर्ने र समाजमा बढ्दो अराजकता नियन्त्रण गर्न सरकारले जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया