काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म एमालेको जनआन्दोलन निरन्तर र थप सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएका छन्।

आइतबार गुण्डुस्थित आफ्नै निवासमा प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले अहिले सुरु भएको जनप्रदर्शन कुनै हालतमा नरोकिने बताए। ‘हामीले जनप्रदर्शनको अभियान सुरु गरिसकेका छौँ,’ ओलीले भने, ‘यो अब रोकिने होइन, दिनदिनै विस्तार हुँदै अझ प्रभावशाली बन्दै जान्छ।’

advertisement

वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै ओलीले यसको कुनै नैतिक, राजनीतिक वा संवैधानिक आधार नरहेको आरोप लगाए। उनको भनाइमा, ‘अहिलेको सरकारले जनप्रतिनिधि र संविधान दुवैलाई बेवास्ता गरेको छ। यो सरकार कसैप्रति उत्तरदायी छैन, मान्यता पाउन योग्य छैन, त्यसैले हट्नैपर्छ।’

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएको भन्दै ओलीले आन्दोलनको लक्ष्य स्पष्ट रहेको बताए। ‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म हाम्रो संघर्ष रोकिन्न,’ उनले भने, ‘यो आन्दोलन अझ व्यापक बन्छ, हामी पछि हट्दैनौँ।’

अध्यक्ष ओलीले पार्टी चुनावप्रति सजग र प्रतिबद्ध रहेको स्पष्ट पार्दै अहिलेको सरकारलाई चुनाव गराउने अधिकार नै नभएको दोहोर्‍याए।
उनले भने, ‘एमाले चुनावबाट कहिल्यै भाग्दैन। तर एउटा अवैधानिक, असंवैधानिक सरकारलाई चुनाव गराउने हक हुँदैन। त्यसैले पहिला विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्छ।’

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com