काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नवगठित पार्टीलाई ‘वृद्धहरूको पार्टी’ भन्ने टिप्पणी असत्य र भ्रमपूर्ण भएको बताएका छन्।
आइतबार पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले बनाएको पार्टी सबै वर्ग–पेषा र पुस्तालाई समेट्ने स्वभावको भएको स्पष्ट बताए।
पत्रकारले ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूको पार्टीलाई वृद्धहरूको पार्टी भनेका छन्, के भन्छन् ?’ भन्ने प्रश्न सोधेका थिए।
जवाफमा खनालले भने, ‘हाम्रो पार्टी सर्वहारा श्रमिक वर्गको हितमा लड्ने पार्टी हो। यो बुढापाकाहरू मात्र होइन, युवादेखि महिलासम्म, पुरुषदेखि बच्चासम्म सबै जनताको पार्टी हो।’
उनले एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै थपे, ‘हाम्रा पार्टीप्रति ‘बुढापाकाको पार्टी’ जस्ता टिप्पणी गर्नु आवश्यक छैन। बरु यस्तो टिप्पणी गर्नेहरूले आफ्नै अनुहार ऐनामा हेर्न सकून्।’
खनालले नयाँ पार्टीले जनताको अपेक्षा पूरा गर्ने र सबै पुस्ताको राजनीतिक अभिव्यक्तिको थलो बन्ने दाबी गरे।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया