काठमाडौं । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सले कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम हालसम्मकै उच्च हो । यसअघि २०८२ असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५।४ प्रतिशतले वृद्धि भएको छ ।
साउन–असोजसम्म रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स भित्रिने क्रम ३५।४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार तीन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९।२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड र भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया