काठमाडाैं । विगत चार वर्षयता वस्तु–व्यापारतः सर्वाधिक कर तिर्ने प्रतिष्ठानको रूपमा चिनिएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यवसायिक यात्रामा धेरै उतार–चढाव भोगेको बताएका छन्।
कर दिवसको अवसरमा सरकारले उनलाई सम्मान गरेपछि गुरूङले विगतका कठिन क्षणहरू सम्झिए।
गुरूङका अनुसार भदौ २३/२४ मा भाटभटेनीमा लागेको आगलागीले ठूलो आर्थिक क्षति पुर्याएको भए पनि त्यसले आफूलाई थप अनुशासित र मेहनती बन्न प्रेरणा दिएको छ। ‘विगतमा वर्षौँसम्म आन्दोलनले असर गर्थ्यो, अहिले भने एकै दिनमा ठूलो क्षति सहनुपर्यो। बीमाले सबै कभर गरेन,’ उनले भने। ‘तर डुब्दा बैंक डुब्छ, हजारौँको रोजगारी जोखिममा पर्छ भन्ने सोचले उठ्नैपर्ने भयो।’
गुरूङले आफ्नो व्यवसायले कर तिरेर बाँकी रहने नाफा सामाजिक क्षेत्रमा, विशेषगरी स्वास्थ्य सेवामा, खर्च गर्ने परम्परा कायम राख्दै आएको बताए। भगवान् कोइराला प्रतिष्ठान, टिचिङ अस्पताल लगायतका संस्थाहरूलाई ठूलो सहयोग दिँदै आएको जानकारी उनले दिए।
त्यस क्रममा उनले कर प्रणालीप्रतिको आफ्नो धारणा पनि व्यक्त गरे। ‘भ्याट सुरू हुँदा म सबैभन्दा खुसी मान्छे थिएँ,’ उनले स्मरण गर्दै भने, ‘तर पछि अरूको गल्तीमै पनि म सजायको भागीदार बन्नुपरेको तीतो अनुभव छ।’ त्यतिबेलाको आम्दानीले जरिवाना तिर्न पनि कठिन परेको बताउँदै उनले थप कडा परिश्रम थालेको र त्यसको प्रतिफल आज प्राप्त भएको बताए।
उनका अनुसार २ अर्ब रुपैयाँको कारोबार गर्ने भाटभटेनी आज ३३ अर्ब रुपैयाँसम्मको व्यवसाय विस्तार गर्न सफल भएको छ।
गुरूङले आफूलाई लागेका विभिन्न आरोपहरू—कहिले कीर्ते, कहिले जेल, कहिले आगजनी—सबैलाई “स्वीट पेन” को रूपमा लिएको बताए। ‘यस्ता चुनौतीहरूले नै मलाई अझ सशक्त बनाएको हो,’ उनले भने।
भाटभटेनीलाई राजनीतिक कारणले जलाइयो भन्ने आफ्नो पहिल्याको टिप्पणीबारे उनले स्वीकृति जनाउँदै, त्यो आफ्नो भावनात्मक प्रतिक्रिया भएको र त्यस्तो निष्कर्ष निकाल्नु गल्ती भएको पनि स्वीकार गरे।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार











प्रतिक्रिया