काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। क्यानले एनपीएल २०२५ का लागि ओटीटी प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई प्रदान गरेको जनाएको छ।
आगामी मङ्सिर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५)सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सबै खेल डिशहोम गो एप, एन्ड्रोइड टिभी र वेब प्लेटफर्ममार्फत हेर्न सकिनेछ। यस वर्ष युट्युबमार्फत प्रत्यक्ष प्रसारण नहुने क्यानले स्पष्ट पारेको छ।
एनपीएल लाइभ हेर्न एप प्रयोगकर्ताले छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको दरअनुसार नेपालमा ३०० रुपैयाँ, मिडल इस्टमा ५०० रुपैयाँ र अन्य देशका दर्शकका लागि १० अमेरिकी डलर तोकिएको छ। खल्ती, इसेवा, भिसा वा मास्टरकार्डमार्फत सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सकिने कम्पनीले जनाएको छ।
उच्च गुणस्तर र अवरोध–रहित स्ट्रिमिङ सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ। मोबायोटिक्सले एकैपटक लाखौँ दर्शकका लागि स्थिर ओटीटी स्ट्रिमिङ प्लेटफर्म निर्माण गर्दै आएको छ भने अकामाई आईपीएलको डिजिटल प्रसारणमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको विश्वस्त क्लाउड सेवा प्रदायक हो।
डिशहोमले नयाँ संस्करणको एप गुगल प्ले स्टोरमा उपलब्ध गराइसकेको छ भने आईओएस उपकरणका लागि एप चाँडै सार्वजनिक हुने जनाएको छ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार













प्रतिक्रिया