धरान। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई राष्ट्रिय नेतृत्वको अवसर मिले देशमा ‘औजारको क्रान्ति’ ल्याउने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक दृष्टि र आगामी योजनाबारे धारणा सार्वजनिक गर्दै उनले नेपाललाई उत्पादन र निर्माणको क्षेत्रमा विश्वमै उदाहरणीय बनाउन सकिने दाबी गरे।

सामाजिक अभियान र श्रमदानमा पहिचान बनाएका साम्पाङले पछिल्लो समय राजनीतिक उपस्थितिलाई तीव्र बनाउँदै आएका छन्। पार्टी विस्तार अभियानमै रहेका उनले विभिन्न जिल्लाबाट आफ्ना विचार र अठोटलाई निरन्तर प्रसारण गरिरहेका छन्। सो क्रममा उनले “माटोको कसम” खाँदै देशमा ठूलो परिवर्तन सम्भव रहेको बताउँदै समर्थनको अपिल गरे।

advertisement

मेयर साम्पाङ लेख्छन्

“नेपाली जनताले श्रम संस्कृतिलाई सत्ता चलाउने जिम्मा दिए, यो माटोको कसमविश्व चकित हुने गरी औजारको क्रान्ति ल्याइदिन्छु। उत्पादन र निर्माणमा नेपाललाई कुनै देशले भेट्न सक्दैन।”

धरानमा श्रममार्फत विकासको मोडल प्रस्तुत गरेका साम्पाङले यही अभ्यासलाई राष्ट्रिय स्तरमा लागू गर्ने सङ्कल्प व्यक्त गरे। उनले आफ्नो नेतृत्वमा श्रम संस्कृति पार्टीले बहुमत पाए देशका गरिब र दुःखी नागरिकका दिन फर्कने दाबी पनि गरे।

उनले अर्को पोस्टमा लेखे,
”श्रम संस्कृतिले बहुमत पाएको दिन यस देशका गरिब–दुःखीका दिन फर्कन्छन्। माटोको कसम भयो, झुट बोल्ने मान्छे होइन म।”

साम्पाङ हाल पार्टी विस्तारका लागि देशव्यापी यात्रामा छन्। उनले भोजपुर, ताप्लेजुङ, तेह्रथुम, मकवानपुर, चितवनलगायत विभिन्न जिल्लामा राजनीतिक कार्यक्रम तय गरिसकेको जनाएका छन्।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com