ढाका । बंगलादेशमा राजनीतिक तनाव तीव्र बन्दै गएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि देशभरै अवस्था थप अस्थिर बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले गत वर्ष विद्यार्थी आन्दोलनमाथि भएको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धका अपराधको अभियोगमा सोमबार हसिनालाई मृत्युदण्डको फैसला सुनाएको थियो। फैसलापछि राजधानीमा पुनः विरोध उग्र बनेको छ।
फैसला सार्वजनिक भएपछि आक्रोशीत विद्यार्थीहरूको एक समूहले धनमन्डी–३२ स्थित हसिनाको पुर्ख्यौली घरमा पुनः तोडफोड प्रयास गरेको छ, जसक्रममा दुई जनाको मृत्यु भएको बताइन्छ। ढाका ट्रिब्युनका अनुसार, ढाका कलेजका विद्यार्थीहरू बुलडोजरसहित उक्त क्षेत्रमा पुगेका थिए तर सुरक्षाकर्मीहरूले पहिल्यै बाटो रोकेका थिए। भीडले ब्यारिकेड तोड्न खोजेपछि प्रहरीलाई लाठीचार्ज, ध्वनि ग्रेनेड र बल प्रयोग गर्नुपर्यो। स्थिति नियन्त्रणका लागि विभिन्न क्षेत्रमा सेना समेत परिचालन गरिएको छ।
गत वर्ष आन्दोलनका दौरान आंशिक रूपमा जलेको हसिनाको घर अहिले पनि कडा सुरक्षा घेरामा राखिएको छ। यसैबीच ढाका तथा अन्य शहरहरूमा आगजनी, बम विस्फोट र राजनीतिक झडपका घटनाहरू बढेको स्थानीय मिडियाले जनाएको छ। फैसला अघि र पछि करिब ५० सवारी साधनमा आगजनी भएको दाबी गरिएको छ।
फैसला प्रति जनमत विभाजित
गोपालगञ्ज, मौलभिबजार, गाजीपुर र आशुलिया लगायत संवेदनशील क्षेत्रमा हिंसा फैलिएको छ। फैसला प्रति आम नागरिकको धारणा विभाजित देखिएको छ—मृतक विद्यार्थीका परिवार तथा विपक्षी समर्थकहरूले निर्णयलाई न्यायको जित भन्दै मिठाई बाँडेका छन्। विपरीत रूपमा, शेख हसिनाको पार्टी अवामी लिगले निर्णयको विरोधमा देशव्यापी बन्दको घोषणा गरेको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया