काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् ।
आगामी पुस १६ भित्र नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक भइरहेका बेला थापाले मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पार्टीभित्रको हालको बहस ‘मिति’ भन्दा ठूलो—‘सुधारको आवश्यकतासँग’ जोडिएको भएको बताए।
थापाका अनुसार नागरिकले कांग्रेसलाई दिएको ताजा राजनीतिक सन्देश अत्यन्तै प्रष्ट छ—पुरानै ढर्राले पार्टी चलाएर जनताको विश्वास फिर्ता पाउन सकिँदैन। ‘पुरानो शैली अब चल्दैन। सुधार गरेर मात्र कांग्रेसप्रति जनताको भरोसा फर्किन्छ,’ उनले भने।
भित्रि विवाद बढ्दै गइरहेका बेला उनले नेता–कार्यकर्तालाई शान्त, धैर्यशील र संयमित रहन आग्रह गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ‘नयाँ ऊर्जा र सुधारिएको स्वरूप’ सहित अघि बढ्ने प्रतिवद्धता जनाए।
‘सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ मजबुत बन्छ,’ थापाले भने, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ।’
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार











प्रतिक्रिया