काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको प्रदर्शनले आफूहरू विचलित नहुने बताएका छन्।
बस्नेत, महासचिव शंकर पोखरेलसहितका नेताहरू प्रदेशस्तरीय कार्यक्रममा जाने क्रममा सिमरा विमानस्थलमा जेनजी समूहले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाएको छ। तर बस्नेतले प्रशासनको यो कदमलाई नैतिकरूपमा गलत रहेको ठहर गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेस जागरण सभा आयोजनाका क्रममा विमानस्थलमा अवरोध गरेर विभिन्न दल–सम्बद्ध अराजक भिड उतारेर आन्दोलन गराउने, र ५०–६० जना संलग्न सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत हो।’
बस्नेतले सभा–सम्मेलन गर्ने र स्वतन्त्र विचार व्यक्त गर्ने अधिकार हनन भएको आरोपसमेत लगाएका छन्। उनले थपे, ‘दलहरूको गतिविधि रोक्ने सरकार फागुन २१ मा चुनाव गराउँछु भन्छन्, यो हास्यास्पद देखिन्छ।’
उनले स्पष्ट पारे, ‘हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौं। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ। जनता सबै बुझिसकेका छन्, हाम्रा लक्ष्य र नियत स्पष्ट छन्।’
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












प्रतिक्रिया