काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनःस्थापनाको माग उठाउन दलहरुलाई रोक्दै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनाव नै वर्तमान अवस्थाको एक मात्र संवैधानिक र राजनीतिक समाधान भएको स्पष्ट गरेकी छन्।

सिंहदरबारमा बुधबार निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलका प्रतिनिधिहरूसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले संसद् पुनःस्थापनाको आग्रहले मुलुकलाई पुनः अस्थिरता र ‘राजनीतिक दुर्घटना’तर्फ धकेल्ने चेतावनी दिइन्।

advertisement

प्रधानमन्त्री कार्कीले अहिलेको सरकार दशकौँ देखिको कुशासन, भ्रष्ट ढाँचाबद्ध राजनीति र युवा आन्दोलनको बलमा स्थापित भएको उल्लेख गर्दै चुनाव प्रक्रियामा अनिश्चितता सिर्जना गर्नु राष्ट्रका लागि घातक हुने बताइन्।
उनले भनिन्, ‘संसद् पुनःस्थापनाको एजेन्डा अघि सार्नु भनेको विगतका राजनीतिक दुर्घटनाको पुनरावृत्ति गर्ने प्रयत्न मात्र हो। लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले निर्वाचनबाट पन्छिन सक्दैन।’

प्रधानमन्त्रीले केही दलहरू चुनावबारे अनिश्चित र दुविधायुक्त व्यवहार देखाइरहेकाले मुलुक फेरि अस्थिरताको चक्रमा फस्ने खतरा रहेको उल्लेख गरिन्। उनले मंसिर १० गतेभित्र सबै दलले अनिवार्य रूपमा पार्टी दर्ता प्रक्रिया पूरा गर्नुपर्ने आग्रह गर्दै भनिन्, ‘दल दर्ताबाट पलायन गर्ने वा चुनाव बहिष्कार गर्ने दल लोकतन्त्रको संरक्षणभन्दा अराजकताकै पक्षमा उभिएको ठहरिनेछ।’

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com