काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई दुर्गा प्रसाईँको पक्राउलाई आफ्ना कमजोरी र कर्तुत लुकाउने प्रयास भन्दै कडा आलोचना गरेका छन्।
एमाले स्थानीय विकास विभागले च्यासलमा आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले मध्यरातमा घरमै सुतिरहेको व्यक्तिलाई आतङ्कित पारेर पक्राउ गर्नु मानवता र कानूनी मर्यादाविपरीत भएको दाबी गरे।
उनले राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रसाईँको गिरफ्तारी प्रकृतिबारे प्रश्न उठाइसकेको उल्लेख गर्दै, यस्तो अवस्थामा सरकारलाई उनलाई थुनिराख्ने नैतिक वा कानूनी अधिकार नभएको बताए।
‘दिउँसो भिडियो सार्वजनिक गर्छ, तर राति सुतिरहेका बेला समातिन्छ—के यही हो कानुनी प्रक्रिया ?’ भनी प्रश्न गर्दै ओलीले प्रसाईँले सार्वजनिक गरेका आरोप–प्रमाणका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।
ओलीले भने, ‘माथि लागेका आरोपको जवाफ दिनेसट्टा व्यक्तिलाई थुनेर मुख बन्द गराउने प्रयास समस्या समाधान होइन। सरकारसँग जवाफ छ भने सार्वजनिक गरियोस्, नभए दुर्गा प्रसाईँलाई तुरुन्त रिहा गरियोस्। बोलेको भरमा कसैलाई थुन्न पाइँदैन।’
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार













प्रतिक्रिया