काठमाडौं । नेपाली राजनीतिक एवं नागरिक संगठन जेनजी मुभमेन्टले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौता सम्बन्धी भ्रष्टाचारको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरेको छ। उजुरीमा ऊर्जामन्त्री कुलमान घिसिङ, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाल र विद्युत् नियमन आयोगलाई दोषी ठहर गर्दै छानबिनको माग गरिएको छ।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार, घिसिङ–सिलवालको सेटिङमा गरिएको विद्युत् आयात सम्झौताबाट करिब ४३ करोड रुपैयाँको गडबडी भएको आरोप छ। उजुरीमा भनिएको छ कि अहिलेसम्म अनेकौं उजुरीहरू अख्तियारमा परेको भए पनि आयोगका केही आयुक्तको प्रभावका कारण अनुसन्धान अघि बढ्न सकेको छैन।
उजुरीमा थप उल्लेख गरिएको छ कि प्राधिकरणले पीटीसीसँग विद्युत् खरिद गर्दा ६.७४ भारु प्रतियुनिट दरमा प्रस्ताव आएकोमा, घिसिङ–सिलवालको संयोजनमा बढी मूल्य (६.९५ भारु प्रतियुनिट) तय गरी प्राधिकरणलाई आर्थिक नोक्सान पुर्याइएको थियो। यसैगरी, राज्य ट्रान्समिसन शुल्क र प्रसारण लाइनको प्राविधिक विवरणमा पनि अनियमितता गरेको आरोप छ, जसले करिब १० करोड रुपैयाँ थप घाटा पुगेको देखाइएको छ।
जेनजी मुभमेन्टले उजुरीमा प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त किशोर सिलवालसँगको पुरानो सम्बन्धका कारण स्वार्थको द्वन्द्व भएको र स्वतन्त्र छानबिनको मार्ग अवरुद्ध भएको समेत उल्लेख गरेको छ।
उक्त संगठनले भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रावधान अनुसार तत्कालीन खरिद प्रक्रिया रद्द गरी संलग्न व्यक्तिहरू विरुद्ध कानूनी कारबाही गर्न अख्तियारलाई अनुरोध गरेको छ।
जेनजी मुभमेन्टका अनुसार, पूर्व–प्रस्तावभन्दा महँगो दरमा विद्युत् खरिद, अनियमित आयात अवधि, र अभिलेख अभावले प्राधिकरणलाई ठूलो आर्थिक नोक्सान पुर्याएको छ। यसै कारण उनीहरूले यस विषयमा स्वतन्त्र, पारदर्शी र व्यावसायिक अनुसन्धानको माग गरेका छन्।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार













प्रतिक्रिया