बारा। बाराको सिमरामा जेनजी युवा समूह र सुरक्षाकर्मीबीच भएको झडपमा चार जना घाइते भएका छन्। घाइतेमध्ये निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी र निलहरी सापकोटा रहेका छन्। प्रहरीका अनुसार उनीमध्ये दुई जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ भने बाँकी दुई जनाको उपचार सिमरा अस्पतालमै भइरहेको छ।

घटना पश्चातै सुरक्षा नियन्त्रणका लागि सिमरामा कर्फ्यु लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोकदेखि जीतपुर लल्कापुलसम्मको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। आदेशअनुसार उक्त क्षेत्रमा कुनै पनि भेला, जुलुस, सभा, प्रदर्शन वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको छ।

advertisement

झडपको कारण भनेको जेनजीका अगुवालाई कुटपिट गरेको आरोपमा एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताविरुद्ध कारबाही माग गर्दै युवा समूहले प्रदर्शन गरिरहेको हो। बुधबार पनि उनीहरूले सिमरा चोकमा प्रदर्शन गर्दै वीरगञ्ज–पथलैया खण्डमा यातायात अवरूद्ध पारेका थिए।

सिमरा बजारका सबै पसल र व्यवसाय बन्द छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले झडप रोकिएको भए पनि युवाहरूले प्रदर्शन जारी राखेको बताएका छन्। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन आवश्यक परेमा केही ठाउँमा अश्रुग्यास प्रहार गरिएको थियो।

झडपका कारण राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। देशकै प्रमुख भन्सार वीरगञ्जबाट छुट्ने मालवाहक सवारी साधनहरू र वीरगञ्जबाट अन्यत्र जाने वा आउने सवारी साधनहरू समेत रोकिएका छन्।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com