काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबारदेखि जारी तनाव नमतिनपछि प्रधानमन्त्री सुशीला कार्कीले आव्हान गरेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद् सचिवालयमा अहिले पनि चलिरहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुरक्षा परिषद्को आकस्मिक बैठक बिहीबार बिहानदेखि बसिरहेको हो। एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार बारा जाने तयारीमा रहे पनि सिमरामा उत्पन्न विवाद र तनावका कारण उनीहरूको कार्यक्रम प्रभावित भएको थियो।
एमालेसँगको विवाद जेन–जी समूहका युवासँग चर्किएपछि बुधबार सिमरा विमानस्थलमा तोडफोड भएको थियो। त्यसपछि स्थनिक प्रशासनले तत्काल कर्फ्यु आदेश जारी गरेको थियो। स्थिति सामान्य नहुँदा कर्फ्यु बिहीबार राति ८ बजेसम्म थप लम्ब्याइएको छ।
यता, सुरक्षा निकायका स्रोतका अनुसार गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले आसन्न निर्वाचनका लागि आवश्यक परे सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार पत्र रक्षा मन्त्रालयमा पुगेको बताइएको छ।
सेना परिचालन जस्तो संवेदनशील विषयमा राष्ट्रिय सुरक्षा परिषद्को निर्णय आवश्यक पर्ने भएकाले आजको बैठकमा यही विषयमाथि विस्तृत छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया