काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउ प्रकरणमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै प्रहरीलाई पक्राउको कानुनी आधारसहित उनलाई अदालत समक्ष पेस गर्न आदेश दिएको हो।

प्रसाईंलाई प्रहरीले मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो। सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न आवश्यक ठहरसहित उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको दाबी छ।

advertisement

आन्दोलनको घोषणा गर्दै प्रसाईंले पछिल्ला दिनमा विभिन्न सभामा भड्काउपूर्ण अभिव्यक्ति दिएको तथा उनका अभिव्यक्तिले हिंसात्मक गतिविधि भड्किन सक्ने आकलनपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। उनले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन थाल्ने, यातायातसहित सम्पूर्ण क्षेत्र ठप्प पार्ने चेतावनी दिएका थिए।

त्यससँगै, राष्ट्रको प्रतिष्ठासँग जोडिएको मानिएको एनपीएल रोक्न आफूले क्यानका जिम्मेवार अधिकारीहरूलाई चेतावनी दिएको प्रसाईंको अभिव्यक्ति सार्वजनिक भएपछि सुरक्षा निकाय थप सतर्क भएको थियो।

प्रसाईंलाई अदालतमा कहिले पेस गर्ने भन्नेबारे आवश्यक जानकारी जुटाउन सर्वोच्चले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com