काठमाडौं । लामो समयदेखि विशेष कि नियमित महाधिवेशन भन्ने विवादमा अल्झिएको नेपाली कांग्रेसको स्थगित केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजे पुनः बस्दैछ। असोज २८ देखि सुरु भई कात्तिक 27 मा रोकिएको बैठक महाधिवेशनको मिति तथा कार्यतालिका टुंग्याउने मुख्य एजेन्डासहित पुनः सञ्चालन हुन लागेको हो।

पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नियमित महाधिवेशनतर्फ उभिएका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबीच सहमति नजुटेपछि बैठक तीनपटक स्थगित भएको थियो।

advertisement

शुक्रबार संस्थापन पक्षका २८ केन्द्रीय सदस्यसँगको भेटमा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन कुनै हालतमा नहुने स्पष्ट संकेत गर्दै पुस अन्तिम सातामा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गर्ने तयारी रहेको बताएका थिए।

उनका अनुसार, नियमित महाधिवेशनको प्रक्रिया सुरु गराउन पुस अन्तिम साताको कार्यतालिका ल्याएर विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गराउने योजनामा आफूहरू छन्।

महामन्त्रीद्वय थापा–शर्माका विश्वासमा कार्यतालिका पेस गर्दै विशेष महाधिवेशनको आवश्यकता हटाउने तयारी भइरहेको खड्का पक्षको भनाइ छ।
नेता डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशन रोक्न नचाहे पुस अन्तिम साताभित्र नै मिति सार्वजनिक गर्नुपर्ने धारणा राख्दै आएका छन्।

शनिबारको बैठकअघि बिहानैदेखि संस्थापन पक्षका नेताहरूसँग सहमतिका लागि संवाद सुरु हुने नेताहरूले बताएका छन्।

यद्यपि बहुमत केन्द्रीय सदस्यसमेत रहेको संस्थापन पक्षले भने कार्यवाहक सभापतिले आफूहरूसँग संवाद नगरेको आरोप लगाएको छ।
शुक्रबार खड्काले संस्थापन पक्षका ‘सात भाइ’ नेताहरूसँग टेलिफोनमा पनि सम्पर्क नगरेको उनीहरूको भनाइ छ।

संस्थापन पक्षका करिब ७० केन्द्रीय सदस्य पछिल्ला दिनमा छुट्टै भेला र आन्तरिक छलफलमा जुटिरहेका छन्। उनीहरूले महामन्त्रीहरूले मिडियामार्फत पार्टीभित्र विभाजनकारी भाष्य बनाइरहेको तथा कार्यवाहक सभापतिले त्यसलाई व्यक्तिगत लाभसँग जोडेर हेरेको आरोप लगाएका छन्।

संस्थापन पक्षका नेताहरूले सहमति बिना कार्यतालिका प्रस्तुत भए बैठकमै मतविभाजन माग गर्ने तयारी गरिएको बताएका छन्।
उनका अनुसार—
“कार्यवाहक सभापतिले संस्थापन पक्षसँग पूर्व–सहमति बिना कार्यतालिका पेश गरे, हामी बहुमतबाट निर्णय गर्ने चुनौती दिन्छौँ,” एक केन्द्रीय सदस्यले बताए।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com