रुकुमपूर्व । रुकुमपूर्वका पूर्व उपविजेता तथा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार भएका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। शनिबार पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मल्ललाई औपचारिक रूपमा सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका मल्लले एमाले त्याग्दै नयाँ बाटो रोजेका हुन्। उक्त चुनावमा घर्तीमगरले १२ हजार २६२ मत प्राप्त गर्दा मल्ल ५ हजार २११ मतसहित दोस्रो भएका थिए।
पार्टी परिवर्तनको निर्णय सार्वजनिक गर्दै मल्लले एमालेभित्र बढ्दो गुटगत स्वार्थ, राजनीतिक असमानता, ‘जनवादी केन्द्रीयता’ विपरीतका गतिविधि र नेतृत्वको चरित्रप्रति गहिरो निराशा पैदा भएको बताए।
‘७० वर्षको उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएपछि पार्टी नेतृत्वप्रति विश्वास झनै कमजोर हुँदै गयो,’ मल्लले टिप्पणी गरे।
जनयुद्धकालीन आफ्नो भूमिकालगायत सेनाद्वारा गिरफ्तारी र शिवपुरीमा भोगेको यातना स्मरण गर्दै उनले माओवादी पृष्ठभूमिका कार्यकर्ताप्रति एमाले नेतृत्वले अपनाएको ‘नकारात्मक व्यवहार र बहिष्कार प्रवृत्ति’ले आफू अलगिने निर्णयमा पुगेको बताए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकिएको प्रसंग जोड्दै उनले एमालेले ‘अहंकारपूर्ण’ व्यवहार देखाएको आरोप पनि लगाए।
रुकुम–रोल्पाजस्ता ‘रातो भूगोल’प्रति पार्टी नेतृत्वको उदासीनता, शहीद परिवारप्रति बेवास्ता र आन्तरिक भ्रष्टाचारको संरक्षण सामान्य बनेको भन्दै मल्ल आलोचित बने। उनका अनुसार प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायत नेताहरूले मूल कम्युनिस्ट धारमा फर्किन निरन्तर प्रेरित गरेका थिए।
अब नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै मल्लले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे। ‘फुटभन्दा एकताले रुकुमपूर्व समृद्ध हुन्छ,’ उनले भने।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया