काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवार तथा नातेदारलाई नियुक्त गरेको भन्ने आरोपप्रति आधिकारिक रूपमा प्रतिक्रिया दिएको छ। सचिवालयले श्रेष्ठमाथि लगाइएको आरोपलाई अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन भएको भन्दै खण्डन गरेको हो।
सचिवालयका अनुसार केही व्यक्तिहरूले थर मिल्ने, अथवा जातीय पृष्ठभूमि एउटै हुने आधारमा श्रेष्ठसँग सम्बन्धित सबैजना नातेदार भएको जस्तो प्रचार गर्दै जनमत भ्रमित पार्ने काम गरेको उल्लेख छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको निवासमा चौबीसै घण्टा नजिकबाट सहयोग गर्ने व्यक्तिहरूलाई सुरक्षाका दृष्टिले पनि भरोसायोग्य, भरपर्दो र दिनरात खटिन सक्ने जनशक्ति आवश्यक हुन्छ। कानुनसम्मत रूपमा गरिएको यस्ता नियुक्तिलाई लिएर अनावश्यक टिप्पणी नगरिदिन अनुरोध गर्दछौँ।’
विज्ञप्तिमा थप स्पष्ट गरिएको छ कि अन्य सामान्य नियुक्तिहरूलाई समेत गलत ढंगले प्रमुख स्वकीय सचिवसँग जोडेर नातावादको भ्रम फैलाइएको छ, जुन वास्तविकतासँग मेल नखाने बताइएको छ।
सचिवालयले जेनजी आन्दोलनको समर्थनमा बनेको वर्तमान सरकारले मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्रमुख कार्यशैलीका रूपमा लिएको दाबी गरेको छ। राज्यकोषमा कम भार पर्नु र सचिवालयलाई दक्ष तर सानो आकारमा सञ्चालन गर्नु सरकारको प्राथमिकता रहेको विज्ञप्तिमा उल्लेख छ।
त्यहीअनुसार, कार्यविधिअनुसार प्रधानमन्त्रीले राख्न सक्ने जनशक्ति हेर्दा सल्लाहकार ७ मध्ये २ जना मात्र नियुक्त, विज्ञ कर्मचारी १९ मध्ये ४ जना मात्र, जसमा एक जना अवैतनिक, स्वकीय सचिवालयमा ४१ दरबन्दीमध्ये १४ जना मात्र कार्यरत छन्।
विज्ञप्तिमा भनिएको छ, ‘विगतका सरकारहरूले प्रायः सबै दरबन्दी भरेर सचिवालयलाई ठूलो आकारमा चलाउँदै आएको भए पनि प्रधानमन्त्री कार्कीले अत्यावश्यक कार्यका लागि चाहिने केवल २० जनाको सानो सचिवालय बनाइएकी छन्।’

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार













प्रतिक्रिया