काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशनको समयबारे दुई वैकल्पिक प्रस्ताव अघि सारेका छन्। इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधिसभा निर्वाचन (फागुन २१) समेत आवश्यक परे पछि सारेर भए पनि महाधिवेशन मार्ग निकाल्न सकिने सुझाव दिएका हुन्।

शर्माले हाल पार्टीभित्र उठेको ‘नियमित महाधिवेशन अब सम्भव हुन्छ कि हुँदैन ?’ भन्ने जिज्ञासाप्रति आफू पूर्ण रूपमा स्पष्ट रहेको बताउँदै भने, ‘सबै ऐक्यबद्ध भएर जुटे महाधिवेशन सम्भव छ। विकल्प दुईवटा छन्।’

advertisement

पुसको अन्तिम साताभित्र नियमित महाधिवेशन गर्ने गरी तत्काल कार्यतालिका तय गर्ने प्रस्ताव उनले राखे। तयारी प्रक्रियामा केही दिन समय अपुग हुन गए थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्न सकिने उनले उल्लेख गरे।

यही प्रक्रियामा समानुपातिक सूची बुझाउने मिति वा फागुन २१ को निर्वाचन पनि केही पछाडि सार्न सकिने सम्भावनाबारे राजनीतिक सहमतिका आधारमा समाधान खोज्न सकिने उनको मत छ। शर्मा भन्छन्, ‘शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न र हिमाली क्षेत्रको मौसमी प्रतिकूलता हेर्दा केही पछि सार्ने विकल्प उत्तम हुन सक्छ।’

शर्माले सभापति शेरबहादुर देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सुझाव पनि दिए—अर्थात् २०१४ सालमा जस्तै सभापतिले स्वयं मार्ग प्रशस्त गर्ने।
उनका अनुसार, यसले एकातर्फ पार्टीले सहज निकास पाउनेछ भने अर्कोतर्फ देउवाको राजनीतिक भूमिकालाई उच्चता दिनेछ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले उठाएको माग सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने भन्दै शर्माले भने, ‘त्यसअनुसार २०८२ मंसिर मसान्तभित्र विशेष महाधिवेशन र २०८३ मंसिरमा नियमित महाधिवेशन सम्भव हुन्छ।’

शर्माका अनुसार, अहिलेको संवेदनशील राजनीतिक परिस्थितिमा कांग्रेसले चाँडै स्पष्ट मार्गचित्र बनाउनुपर्ने आवश्यकता झनै बढेको छ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com