काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक र आर्थिक अस्थिरताविरुद्ध आफ्नो पार्टी अब सडकमा सशक्त रूपमा सक्रिय हुने घोषणा गरेका छन्।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजना गरिएको पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले युवा पुस्ता र मजदुरहरूको समर्थन लिएर सरकारलाई चेतावनी दिने बताए।

advertisement

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका मजदुर र युवाहरूलाई स्वागत गर्दै उनले नयाँ पुस्ता पार्टीतर्फ आकर्षित हुँदै गएको दाबी गरे। ‘अस्ति भर्खरै एक हजारभन्दा बढी जेन–जी युवाहरू हाम्रो पार्टीमा जोडिएका छन्। आज मजदुर साथीहरू त्यसैगरी पार्टीमा आइरहनुभएको छ। सुरुमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा हामीले युवाहरूलाई समर्थन गरेका थियौं। अहिले उनीहरूले बुझिसकेका छन् कि उनीहरूको वास्तविक अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो,’ उनले भने।

प्रचण्डले विदेशिएका युवा र स्वदेशमै रहेका नयाँ पुस्तालाई एकीकृत गर्दै पार्टीलाई अब्बल र अग्रणी बनाउने योजना सुनाए।

सम्बोधनका क्रममा उनले वर्तमान सरकारमाथि कडा आरोप लगाउँदै आफ्नै प्रधानमन्त्री कार्यकालमा वैदेशिक रोजगारीमा रहेका र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको स्मरण गरे। तर अहिलेको सरकारले उक्त कोषको रकम सदुपयोग गर्न नसकेको बताए। ‘मैले विदेशमा रहेका श्रमिकको मागअनुसार सामाजिक सुरक्षा कोष घोषणा गरेको थिएँ। अहिले कोषमा झन्डै डेढ खर्ब रुपैयाँ जम्मा भइसकेको छ। तर दुखको कुरा, सरकारले नीति नबनाउँदा त्यो रकम ‘फ्रिज’ भएको छ। न त यसले रोजगारी सिर्जना गर्‍यो, न त उत्पादन बढायो,’ प्रचण्डले भने।

उनले ‘रिटर्नी’ युवाहरूलाई स्वदेशमै उद्यम गर्नका लागि बजेटमा अर्बौं रकम छुट्याए पनि वर्तमान सरकारले ती सबै कार्यक्रम खारेज गरी युवा विरोधी काम गरेको आरोप पनि लगाए। ‘विदेशबाट फर्केर केही गर्छु भन्ने युवाको सपना सरकारले चिसोपानी खन्याइदियो,’ उनले भने।

प्रचण्डले आगामी १२ गतेदेखि देशव्यापी पार्टी एकता तथा जनसञ्चालन अभियान सुरु हुने जानकारी दिएका छन्। धनगढीबाट सुरु हुने विशाल सभाहरू विराटनगरसम्म पुग्नेछन्। ‘हामी १२ गतेबाटै सडकमा निस्कँदैछौँ। यो अभियान चुनावी वातावरण निर्माण गर्ने र सरकारलाई गलत कार्य सच्याउन चेतावनी दिने उद्देश्यका लागि हो,’ उनले भने।

उनले पर्सी ११ गते जनता समाजवादी पार्टी (जसपा) को ठूलो समूह र अन्य केही पार्टीहरू नेकपामा समाहित हुने दाबी गर्दै विचार मिल्ने शक्तिहरूलाई एकीकृत गरी ‘समाजवादी क्रान्ति’ को नेतृत्व गर्ने उद्घोष गरेका छन्।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com