काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट पक्राउ गरिएको हो।
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो। सोही घटनाका क्रममा अधिवक्ता समेत रहेका ढुंगेलले आक्रोश व्यक्त गर्दै न्यायाधीश र अदालतमाथि आक्रमण गर्न उक्साउने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
यस घटनापछि जिल्ला प्रहरी परिसर, काठमाडौंले ढुंगेलको खोजी गरिरहेको थियो भने सर्वोच्च अदालत प्रशासनले पनि अदालतमा आगजनी गर्नेविरुद्ध जाहेरी दिएको थियो।
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले ढुंगेल पक्राउ परेको पुष्टि गर्दै भने, ‘उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ। सुरक्षाका दृष्टिले धेरै कुरा खुलाउन मिल्दैन।’
ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता हुन्। उनी २०७९ सालको स्ववियु निर्वाचनमा ल क्याम्पसको सभापतिमा निर्वाचित भएका थिए।
यस घटनापछि प्रहरी अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको छ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार













प्रतिक्रिया