काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बुधवार कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा कम्पनीतर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
१५ वर्षदेखि चितवनको भरतपुरमा संचालनमा रहेको भगवती कम्पोजिट इण्डष्ट्रिजले अत्याधुनिक प्रविधि प्रयोग गरी उच्च गुणस्तरका, दिगो र प्रविधिमैत्री उद्योगजन्य उत्पादनहरु बजारमा ल्याउँदै आएको छ।
कम्पनीले डब्लु पी सी (WPC) ढोका तथा फ्रेम, पार्टेशन बोर्ड, वाल क्याडिङ, पानी–किरा–चिसो प्रतिरोधी वाल प्यानलहरू लगायतका सामग्री उत्पादन गर्दै आएको छ। साथै, भगवती फाइबर डिभिजनअन्तर्गत विभिन्न प्रकारका फाइबर सिट, बाथ टब, स्लाइड तथा झ्याल–ढोका फ्रेमहरू पनि उत्पादन गरिँदै आएका छन्।
यसैगरी, बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट अनुमोदित लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन व्यवस्थापन जस्ता सेवामा क्रियाशील मर्चेन्ट बैंकिङ संस्था हो।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया