काठमाडौं । बारा जिल्लाको सिमरामा जिनजीहरुमाथि गरिएको सांघातिक आक्रमण र त्यसको केही दिनमै धनगढीमा दोहोरिएको सोही प्रकृतिको हिंसात्मक घटना विरुद्ध जेन–जी समूहले राजधानीमा शान्तिपूर्ण प्रदर्शन घोषणा गरेको छ।
आज (बिहीवार) ११:०० बजे माइतिघर मण्डलामा आयोजित उक्त प्रदर्शनमा देशभरिका जेनजी समूह एकताबद्ध भई सहभागिताबद्द हुने जनाइएको छ।
कार्यक्रम बारे जानकारी दिदै जेन–जी अगुवा सौरभ भण्डारीले सिमरा र धनगढीमा भएका घटनाहरू केवल आक्रमण मात्र नभई “जेनजी युवाविरुद्धको खुला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यताको सुनियोजित ध्वंस” को रुपमा प्रकट भएको बताएका छन्।
उनले भने- ‘आन्दोलनले अहिलेसम्म शान्तिपूर्ण मार्गमै रहँदै आएको भए पनि यदि दमन, आतंक र हिंसा नरोके सरकार र सत्तापक्ष नै त्यसका प्रत्यक्ष जिम्मेवार ठहरिनेछ।’ “लोकतन्त्र, सुशासन र नागरिक स्वतन्त्रताको मागलाई दबाउन खोजे जेन–जीहरू अझ शक्तिशाली रूपमा सडकमा उत्रिन बाध्य हुनेछन्,” भण्डारीले भने।
जेन–जी समूहले आजको प्रदर्शनमा देशभरका युवालाई सहभागी हुन आह्वान गर्दै ‘फुटाउ र राज गर’ शैलीका राजनीतिक खेलमा नपर्न आग्रह गरेको छ। माइतिघरमा हुने शान्तिपूर्ण प्रदर्शनमार्फत उनीहरूले देशभरका युवामाथि दोहोरिंदै गएको हिंसात्मक घटनाको भर्त्सना गर्दै राज्यलाई दायित्वबोध गराउने जेनजीहरुले तयारी गरेका छन्।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया