बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा दोषीका रूपमा अनुसन्धान भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा पुनः सुनुवाइका लागि पेशी तोकिएको छ।
गत साता लामिछाने पक्षका कानुन व्यवसायीले स्थगन मागेपछि रोकिएको मुद्दा फेरि अघि बढ्न लागेको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। उनका अनुसार, ‘स्थगित मुद्दामा आज पुनः पेसी तोकिएको छ। अब अदालतको निर्णयले नै आगामी प्रक्रिया तय गर्नेछ।’
यसअघिको सुनुवाइमा रुपन्देही जिल्ला अदालतले लामिछानेले बुझाएको बिगो रकमसम्बन्धी कागजात प्रस्तुत भए पनि पर्याप्त स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै साउन २६ गते जमानतयाचना अस्वीकार गरेको थियो। सो निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए।
भियोगपत्रअनुसार सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो तोकिएको छ। यसमध्ये लामिछानेले आफूले तिर्नुपर्ने चार भागमध्ये एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित दाखिला गरेका थिए।
जोशीले पनि लामिछानेकै बराबर बिगो रकमको जमानत कागजात अदालतमा पेश गरेका छन्।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया